भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशको आधिकारीक वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत छ।

प्रारम्भिक जीवन

बिनु रायमाझी पौडेल नेपालको राजनीतिमा ती उदाएकी नेतृ हुन्, जसले सामाजिक न्याय, महिला सशक्तीकरण, सहकारी क्षेत्रको पारदर्शिता र जनसेवाको भावनालाई आफ्नो जीवनको केन्द्रमा राखेकी छन्। न्याय, समानता र जिम्मेवार शासनप्रतिको अटल विश्वासका साथ उहाँले लामो समयदेखि जनताको पक्षमा आवाज उठाउँदै आउनुभएको छ। देशको लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायित्वपूर्ण राजनीतिमा उहाँको योगदान उल्लेखनीय छ।
२०४१ साल पुस ११ गते आइतबार, चितवन जिल्लाको रत्ननगर नगरपालिका-१० मा बुवा नारायण जङ्ग रायमाझी र आमा राधा घिमिरे रायमाझीको कोखबाट जन्म लिनुभएको बिनु रायमाझी पौडेल घरकी दोस्रो सन्तान हुनुहुन्छ। गाउँको सरल वातावरणमा हुर्कँदै उहाँले बाल्यकालदेखि नै मेहनत, अनुशासन र समाजसेवाको संस्कार आत्मसात गर्नुभयो।
उहाँले श्री बैरिया माध्यमिक विद्यालय रत्ननगर-१० बाट माध्यमिक तह उत्तीर्ण गर्दै २०५८ सालमा एस.एल.सी. पास गर्नुभयो। त्यसपछि बालकुमारी उच्च माध्यमिक विद्यालय भरतपुर-०२, चितवन (HSEB) बाट २०६१ सालमा +२ तह पूरा गर्नुभयो। शिक्षाको महत्व बुझ्दै उहाँले मँयादेवी कन्या कलेज भरतपुर-१०, चितवनबाट स्नातक तह हासिल गर्नुभयो र हाल सोही संस्थाबाट स्नातकोत्तर अध्ययनमा संलग्न हुनुहुन्छ।
शिक्षामा निरन्तरता राख्दै राजनीतिक तथा सामाजिक चेतनाको क्षेत्रलाई समानान्तर रूपमा अघि बढाउनु उहाँको विशेषता हो।
बिनु रायमाझी पौडेलको विवाह २०६० सालमा बुवा नारायण प्रसाद पौडेल र स्वर्गीय लोकमाया पौडेलका सुपुत्र शिव प्रसाद पौडेलसँग भएको थियो। उहाँको एक मात्र सन्तान (छोरा) शिविन जङ्ग पौडेलको जन्म २०६१ सालमा भएको हो।
तर, जीवनले कठोर मोड लिँदै उहाँका श्रीमान् २०६८ साल पुस २ गते असामयिक रूपमा स्वर्गवासी हुनुभयो। त्यो समय बिनु रायमाझी पौडेलका लागि अत्यन्त कठिन थियो। तर, दुःख र संघर्षलाई प्रेरणामा रूपान्तरण गर्दै उहाँले आफूलाई अझ दृढ, जिम्मेवार र आत्मनिर्भर नेतृत्वका रूपमा पुनः स्थापित गर्न सफल हुनुभयो।
पारिवारिक दायित्व र सार्वजनिक सेवाबीच सन्तुलन कायम राख्दै उहाँले समाजमा दृढ इच्छाशक्ति र संवेदनशील नेतृत्वको उदाहरण स्थापित गर्नुभयो।

उहाँको राजनीतिक यात्रा २०६० सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यताबाट सुरु भयो। लोकतान्त्रिक मूल्यप्रति आस्था र समाज रूपान्तरणको अभिलाषाले उहाँलाई राजनीतिमा सक्रिय बनायो। युवावस्थादेखिकै नेतृत्व क्षमता, संगठनात्मक समझ र कर्मनिष्ठाले उहाँलाई पार्टीभित्र तीव्र रूपमा अघि बढायो।
२०६९ सालमा नेपाली कांग्रेस चितवन जिल्ला तरुण दलकी कोषाध्यक्षका रूपमा निर्वाचित भई उहाँले युवामाझ उत्साह, दृष्टि र अनुशासन फैलाउन महत्वपूर्ण भूमिका खेल्नुभयो।
त्यसपछि, नेपाली कांग्रेसको १४औँ महाधिवेशन (२०७८ साल)मा प्रतिनिधिका रूपमा निर्वाचित हुँदै उहाँले पार्टी नीतिगत निर्णय र संगठनात्मक सुदृढीकरणमा योगदान पुर्‍याउनुभयो।
२०७९ सालमा, उहाँ नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बागमती प्रदेश सभा सदस्य बन्नुभयो। प्रदेशसभामा उहाँले सहकारी क्षेत्रको पारदर्शिता, महिला सशक्तीकरण, जनजीविकासँग सम्बन्धित नीति निर्माण र सुशासनका विषयमा निरन्तर पहल गर्नुभयो।
राजनीतिमा उहाँको इमानदारी, निष्ठा र नेतृत्व क्षमताको उच्च मूल्यांकन गर्दै सरकारले २०८२ साल साउन ३० गते उहाँलाई सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी सुम्पियो। मन्त्री पद ग्रहण गरेपछि उहाँले सहकारी पीडितको न्याय सुनिश्चितता, नीति सुधार, वित्तीय पारदर्शिता र संस्थागत सुधारका ठोस कदम चाल्दै सहकारी क्षेत्रप्रति नयाँ विश्वास निर्माण गर्नुभएको छ।
मन्त्री पौडेल केवल राजनीतिमा सीमित छैनन्, उहाँ सामाजिक, धार्मिक र मानवतावादी कार्यमा पनि सक्रिय रहिआउनुभएको छ।
उहाँ भरतपुर-१, देवघाटस्थित श्री योगी नरहरिनाथ समावेशी संस्कृत गुरुकुलमकी संयोजक रहनुभएको छ, जहाँ संस्कृत शिक्षा, मूल्य, र परम्परागत ज्ञानलाई आधुनिक सन्दर्भसँग जोड्ने अभियान सञ्चालन भइरहेको छ।

त्यस्तै, उहाँ सन् २००९ बाट लायन्स क्लब इन्टरनेसनलसँग आवद्ध हुनुभयो। समाजसेवा र मानवताको क्षेत्रमा उहाँको योगदान उल्लेखनीय छ।
सन् २०१७ मा लायन्स क्लब ३२५ B२ की अध्यक्ष (President) मा निर्वाचित भई उहाँले समुदायमा नेतृत्व र सहयोगको बलियो सन्देश दिनुभयो। हाल उहाँ लायन्स क्लब ३२५R District की सल्लाहकारको रूपमा सक्रिय हुनुहुन्छ।
मन्त्री पौडेलको राजनीतिक दर्शन “सहयोग, पारदर्शिता र समान अवसर” मा आधारित छ। उहाँको दृष्टि सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई केवल प्रशासनिक निकाय नभई जनजीवन सुधार र सामाजिक समृद्धिको मुख्य माध्यम बनाउने रहेको छ।
उहाँका लागि राजनीति व्यक्तिगत स्वार्थ होइन, राष्ट्रसेवाको जिम्मेवारी हो। सहकारीमा देखिएका अनियमितता र अपारदर्शिताविरुद्ध उहाँको दृढ अडान, गरिब तथा उत्पीडित वर्गप्रतिको संवेदनशीलता र महिला आर्थिक सशक्तीकरणप्रतिको प्रतिबद्धता उहाँको राजनीतिक पहिचान हो।
उनको नेतृत्वमा सहकारी मन्त्रालय क्रमशः जनउत्तरदायी, विश्वसनीय र सुधारमुखी संरचनातर्फ उन्मुख हुँदैछ।
बिनु रायमाझी पौडेल आजको नेपालमा सामाजिक उत्तरदायित्व र महिला नेतृत्वको सशक्त प्रतीक हुन्। व्यक्तिगत संघर्ष, पारिवारिक समर्पण र राजनीतिक दृढताबाट निर्माण भएको उहाँको यात्रा नेपाली राजनीतिमा एक प्रेरक अध्याय हो।