बाढीले पक्की पुल बगेपछि धमाधम तुइन निर्माण गरिँदै

नुवाकोटको सदरमुकाम विदुरसँग सम्पर्क कायम गर्ने उद्देश्यका साथ धमाधम तुइन निर्माण शुरू गरिएको छ ।

त्रिशूली नदीमा आएको बाढीले पुल बगाउनुका साथै सडकमा क्षति पुर्‍याएपछि विदुरसहित रसुवासम्मको सडक यातायात अवरुद्ध भएको छ । त्रिशूली अस्पतालसहित जिल्लाका विभिन्न क्षेत्र र रसुवासँगको सडक यातायात यही भदौ १० गतेदेखि बन्द छ ।

बाढी प्रभावित क्षेत्रको खोज तथा उद्धार, शव व्यवस्थापन र राहत वितरणमा समस्या भएकाले तत्काल आवागमन सहज बनाउन तुइन निर्माण थालिएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अस्पतालका लागि औषधि तथा अन्य आवश्यक सामग्री ल्याउन विदुर–१ इन्द्रायणी चौरदेखि विदुर–१ गुम्बा जोडने तुइन निर्माण भइरहेको छ । करिब ३०० मिटर लामो उक्त तुइन निर्माण अन्तिम चरणमा पुगेकाले मङ्गलबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

यस्तै, बाढीले देवीघाटको पक्की पुल बगाएपछि विदुरसँग बेलकोटगढी नगरपालिकाको सम्पर्क स्थापित गर्न पनि तुइन निर्माण शुरू गरिने भएको छ । उक्त स्थानमा मङ्गलबार बिहानदेखि काम शुरू गरी छिट्टै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिए ।

उनका अनुसार त्रिशूली नदीमा आएको बाढीले नुवाकोट र रसुवाका १८ वटा पक्की पुलमा क्षति पुर्‍याएको छ । केही बस्तीमा घुमाउरो बाटोबाट जान सकिने भए पनि नुवाकोटको किस्पाङ तथा रसुवाको ठूलोगाउँ, डाँडागाउँलगायत त्रिशूलीपारिका बस्तीमा सडकबाट पुग्न नसकिने भएकाले तुइन निर्माण गरी आवागमन सहज बनाइन लागिएको हो ।

नेपाली सेना, स्थानीय पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाको प्राविधिक सहयोगमा विदुरबाट त्रिशूली नदी पार गर्न पाँच स्थानमा तुइन निर्माण गर्ने तयारी गरिएको छ ।

एक स्थानमा तुइन निर्माण गर्न करिब रु १५ लाख खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । यस्तै, बेलिब्रिज निर्माणका लागि नेपाली सेनाले प्राविधिक अध्ययन अघि बढाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह र पूर्वाधार विकासमन्त्री सुनील लम्सालले केही दिनअघि बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै त्रिशूली नदी वारपारका लागि उपयुक्त स्थानमा तत्काल बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

त्यसपछि नेपाली सेनाको प्राविधिक टोलीले बाढीबाट क्षतिग्रस्त ढुङ्गेबगर, त्रिशूली बजार, देवीघाट र बेत्रावतीमा पुल निर्माणका लागि अध्ययन थालेको हो ।